नयाँ वर्ष २०८३ को शुभकामना: सपनाबाट सम्भावनासम्मको नयाँ संकल्प बनोस

डा. आर सी लामिछाने 

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! नयाँ वर्ष केवल पात्रोको पाना फेरिने क्षणमात्र होइन, यो त सोच, दृष्टिकोण र सम्भावनाको नयाँ अध्याय सुरु हुने समय हो। बितेका अनुभवहरूले हामीलाई सिकाएका पाठलाई आत्मसात् गर्दै, नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढ्ने अवसर हो २०८३ । नयाँ वर्ष २०८३ सालले प्रत्येक नेपालीको मनमा आशा, उत्साह र सकारात्मक परिवर्तनको बीउ रोप्न सकोस । सबैलाई देश र समाज प्रतिको कर्तब्य र जिम्मेवारीको  बोध गराउन सकोस यही शुभकामना छ । 

यो वर्ष हामीले व्यक्तिगत सफलताको सीमाभन्दा माथि उठेर सामूहिक समृद्धिको सपना देख्न आवश्यक छ। देशमा सुशासन, पारदर्शिता र उत्तरदायित्वको संस्कार बलियो बनोस्। “मेरो देश, मेरो जिम्मेवारी” भन्ने भावनालाई व्यवहारमा उतार्दै हरेक नागरिक राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागी बन्ने वातावरण बनोस्। विदेशमा रहेका नेपाली युवाहरूका लागि स्वदेशमै अवसर सिर्जना होस्, उनीहरूको ज्ञान, सीप र अनुभव नेपालकै विकासमा प्रयोग हुन सक्ने अवस्था सिर्जना होस्। शिक्षा प्रणाली यति गुणस्तरीय बनोस् कि नेपाली विद्यार्थीहरूलाई विदेश जान पर्ने बाध्यताको अन्त्य भई नेपाल नै अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रको रूपमा चिनिन सकोस्।

सबै क्षेत्रमा नेपालको तुलनात्मक लाभ भएका क्षेत्रहरूः कृषि, पर्यटन, जलस्रोत र उद्यमशीलतामा नयाँ सम्भावनाहरू उजागर होऊन्। पर्यटन क्षेत्रमा नवीन सोच र पूर्वाधार विकासमार्फत नेपालले विश्वमाझ आफ्नो अलग पहिचान अझ बनाउन सकोस । दक्ष जनशक्ति विकासमा सबै तहका सरकारको समन्वयात्मक प्रयास होस् र जनकल्याणकारी नीति तथा कानुनहरूले पुराना, अप्रभावकारी संरचनाहरूलाई प्रतिस्थापन गर्दै समावेशी र दिगो विकासको मार्ग प्रशस्त गरून्।

२०८३ साललाई परिवर्तनको वर्ष बनाउने दृढ संकल्प गरौं। युवाशक्तिलाई देशमै अवसर सिर्जना गर्न प्रेरित गर्ने वातावरण बनोस,  किसानले आफ्नो उत्पादनको सम्मानजनक मूल्य पाउने अवस्था सिर्जना होस र कृषि क्षेत्र सम्मानित उद्योगको रुपमा विकास होस ।  गाउँ–गाउँमा विकासको उज्यालो फैलियोस ।  प्रविधि, नवप्रवर्तन र उद्यमशीलतालाई जोडेर नयाँ  नयाँ आर्थिक सम्भावनाहरू सिर्जना गर्ने वातावरण निर्माण होस । यदि नागरीकको सीप, ऊर्जा र सिर्जनशीलताले देशको विकाससँग जोडिने अवसर पायो  भने, नेपाल अरुको उत्पादनको उपभोक्ता नभई आफ्नै उत्पादन, नवप्रवर्तन र सम्भावनाको केन्द्र बन्न सक्दछ त्यसकारण त्यो वातावरण निर्माण गर्न सरकारको ध्यान जावोस ।

यो वर्ष सपना देख्ने मात्र नभई ती सपनालाई यथार्थमा बदल्ने साहस जुटोस । साना–साना सकारात्मक प्रयासहरूले ठूलो परिवर्तन ल्याउन सक्दछन्। आपसी सम्मान, सहकार्य र सहिष्णुताले समाजलाई अझ सुदृढ बनाउँदछ। नयाँ वर्षले हामीलाई नयाँ नयाँ  आशा जगाउदै जिम्मेवारी र कर्मशीलताको प्रेरणा पनि प्रदान गरोस्।


अन्ततः नव वर्ष २०८३ सकारात्क रुपान्तरणको साझा प्रतिबद्धता बनोस यही शुभकामना छ । हरेक नागरिकले गर्वका साथ “यो मेरो देश हो र यसको विकासमा मेरो सक्रिय योगदान छ” भनेर गौरव गर्ने गरी समृद्ध, सुशासित र आत्मनिर्भर नेपाल निर्माण गर्ने लक्ष्यतर्फ सबै मिलेर अघि बढौं। हार्दिक शुभकामना । 



Comments

  1. कति राम्रो शुभकामना । हरेक नागरिकले गर्वका साथ “यो मेरो देश हो र यसको विकासमा मेरो सक्रिय योगदान छ” भनेर गौरव गर्ने गरी समृद्ध, सुशासित र आत्मनिर्भर नेपाल निर्माण गर्ने लक्ष्यतर्फ सबै मिलेर अघि बढौं । मेरो पनि हार्दिक शुभकामना ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सिंगापुरका प्रधानमन्त्री लि क्वान यु को झल्को दिने प्रम बालेन शाहको कदम

सैलुनदेखि सिंहदरबारसम्म : रुबीको यात्राले ध्वस्त पार्यों पुरानो मानसिकता

सभापति रविलाई नमागेको सुझावः दादागिरीले पतन ल्याउँछ, विनम्रताले र लोकप्रियता बढाउँदछ