वन कार्यालयहरुको सकारात्मक रुपान्तरणमा तरहरा तालिम केन्द्रको प्रयास

 


२०८२ साल चैत्रको विहान विभिन्न जिल्लाका बन प्राविधीकहरुले अन्य दिन भन्दा फरक भएको अनुभुति गर्नु भएको थियो । विभिन्न जिल्लावाट तरहरा आउनु भएका सहभागीहरुको दैनिक कार्य भन्दा आज फरक थियो । वहाँहरु आफना दैनिक कार्यालयका काम छोडेर सकारात्मक सोच र नेतृत्व विकास तालिमका लागि बन अनुसन्धान तथा तालिम केन्द्रमा आउनु भएको थियो । कोशी प्रदेस अन्तरगतका विभिन्न डिभिजन तथा सवडिभिजन बन कार्यालयहरुका २१ जना उर्जाशिल बन कर्मचारीहरुलाई सकारात्मक सोच तथा नेतृत्व विकासको क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले मिति २०८२ साल चैत्र १७ देखी २० सम्म बन अनुसन्धान तथा तालिम केन्द्र तरहरामा ४ दिने तालिम कार्यक्रम सञ्चालन गरिएको छ । 
 
तालिमको सहजीकरण प्रसंशनीय खोज विज्ञ डा. राम चन्द्र लामिछानेले गर्नु भएको थियो भने कार्यक्रमको उद्घाटन कोशी प्रदेस बन निर्देशक श्री भरत श्रेष्ठ र सहभागीहरुलाई स्वागत कोशी प्रदेस बन अनुसन्धान तथा तालिम केन्द्र प्रमुख श्री हेमन्त पराजुलीले गर्नु भएको थियो ।  कार्यक्रम सञ्चालनकै अवधिमा प्रदेस बन सचिव डा. ईन्द्र सापकोटाले अनुगमन गरी सहभागीहरुसँग अन्तरक्रिया गर्नु भएको थियो । चार कोशे झाडीसँग रेहको तरहराको सुविधा सम्पन्न तालिम केन्द्रमा विहान सुनौलो घाम तालिम हलको झ्यालबाट भित्र पस्दै थियो भने तालिमले सहभागीहरुमा सकारात्मक सोचको आशाको किरण जगाउदै थियो । तालिम हल भित्र रहेका २१ जना सहभागी कर्मचारीहरुको अनुहारमा उर्जा, उत्सुकता र एउटा अदृश्य सकारात्मक परिवर्तनको संभावना झल्किरहेको थियो । तालिम कार्यक्रमले सहभागीहरुलाई आफुभित्र यसरी आकर्षित गरेको थियो कि केही जिल्लाबाट त चार घण्टाको यात्रा समेत गरेर आउनु भएको छ । तालिममा उपस्थित सबैको मनमा “के यो तालिमले हाम्रो दैनिकी बदल्न सक्छ? के हामी साँच्चै नयाँ सोचको बिकास गर्न  सक्छौं?” भन्ने प्रश्न उठिरहेको थियो । हातमा माईक लिदै केन्द्रका तालिम शाखा प्रमुख रेन्जर श्री खिलानाथ निरौलाले हसिलो अनुहार सहित कार्यक्रम शुरु गर्दै सबैको ध्यानाकर्षण गर्नु भयो । कार्यक्रमले अगाडी बढाउदै वहाँले “साथीहरू, आज हामी सकारात्मक सोचको यात्रा सुरु गर्दैछौं, यो यात्रा बाहिरको बाहिरी संसारको नभई भित्री मनको रुपान्तरणको यात्रा हो । यो यात्रा नकारात्मक सोचलाई सकारात्मक सोचले जित्ने यात्रा हो।” वहाँको यो भनाईसँगै हलमा एउटा उत्सुकता सहित सबैको मनमा सकारात्मक सिटी बज्यो। 
 
सकारात्मक सोच
कार्यक्रमको पहिलो शेषनको रुपमा सहभागीहरुको सबल पक्षहरु र आगामी दिनमा साथीले कुन क्षेत्रमा उन्नती र प्रगती भएको देख्न चाहानु हुन्छ भन्ने प्रश्नमा छलफल गरी सबै सहभागीहरुको सवल पक्षहरु र आगामी दिनमा देख्न चाहेको अवस्थाको वारेमा लेखाजोखा गरीयो। । यो अभ्यासमा एकजना सहभागीले २० जनाको सबल पक्षहरु र शुभकामना सम्वन्धि सन्देशहरु लेख्नु भयो र यो लेख्ने प्रकृयामा सकारात्मक सोच र उत्साह वृद्धि भएको कुरा सहभागी मध्येका ललित नाल्बोले बताउनु भयो । यो अभ्यासको वैज्ञानिक आधार अत्यन्तै गहिरो र प्रभावकारी रहेकोछ । जब सहभागी ललित नाल्बो समेतका अन्य २१ जना सहभागीहरुले अरू २० जनाको सबल पक्ष र शुभकामना लेख्नुभयो, वहाँको दिमागले एकैसाथ धेरै जटिल प्रक्रियाहरू अनुभव गर्यो। पहिलो, न्यूरोप्लास्टिसिटी अन्तर्गत दिमागले नकारात्मक सोचका पुराना स्नायु मार्गहरू कमजोर बनाउँदै, सकारात्मक सोच र प्रशंसाका लागि नयाँ बलियो मार्गहरू निर्माण गर्यो। दोस्रो, प्रशंसा लेख्दा मस्तिष्कबाट डोपामिन स्राव भयो, जसले उत्साह, ऊर्जा र प्रेरणा बढायो र यही कारणले ललित नाल्बोले “उत्साह वृद्धि भयो” भन्नुभएको हो। तेस्रो, मिरर न्यूरन प्रणाली सक्रिय भएर अरूको सकारात्मक गुण लेख्दा त्यो गुण आफूमा पनि प्रतिबिम्बित भएको महसुस गराइदियो। चौथो, सामाजिक पुष्टिकरण  का कारण अक्सिटोसिन (प्रेम हर्मोन) स्राव भई आपसी विश्वास र समूहसँगको जडान बलियो बन्यो। अन्त्यमा, सेलिगम्यानको ‘थ्री गुड थिङ्स’ सिद्धान्त अनुसार एकै पटक २० जनाको राम्रो पक्ष लेख्दा सकारात्मकताको बाढी नै आउछ, डिप्रेसन घटाउँछ र जीवन सन्तुष्टि बढाउँछ। यी सबै वैज्ञानिक प्रक्रियाहरू एकैसाथ हुँदा, ललित नाल्बोको अनुभव कुनै संयोग वा व्यक्तिगत धारणा मात्र नभई प्रमाणित स्नायुवैज्ञानिक तथ्य हो। यसैले, यो लेखन अभ्यासलाई तालिमको पहिलो सत्रमा राख्नु अत्यन्त रणनीतिक निर्णय हो। यसलाई ‘एफरमेसन राइटिङ थेरापी’  पनि भनिन्छ। हरेक कार्यालयले यस अभ्यासलाई नियमित बानीको रूपमा अपनाएर प्रत्येक बिहान ५ मिनेट सहकर्मीको सबल पक्ष लेख्ने, वा हप्ताको एक दिन टिमले एकअर्कालाई शुभकामना सन्देश लेखेर कार्यालयमा अभ्यास गर्दा कार्यालयको वातावरण सकारात्मक हुन्छ र प्रत्येक कर्मचारीको दिमागको संरचना नै रिवायरीगं हुन्छ, जसले दीर्घकालीन रूपमा नेतृत्व क्षमता, टिमवर्क, र मानसिक स्वास्थ्यमा अभूतपूर्व सुधार ल्याउँदछ। 
 
तरहरा तालिमको यो सानो अभ्यास कोशी प्रदेशका वन कार्यालयहरूमा ठूलो परिवर्तनको बिउ साबित हुन सक्दछ भन्ने कुरा सहभागीहरुले समेत अनुभुति गर्नु भयो । सकारात्मक सोच कसरी बिकास गर्ने, व्यक्तिमा नकारात्मक पक्षधरता हुने भएकोले कुनै पनि विषय वस्तु उपर पहिलो दृष्टिमा नकारात्मक टिप्णी हुन सक्दछ त्यसकारण सकारात्मक टिप्णी गर्नको लागि सचेत भएर टिप्णी गर्नु पर्दछ । अमेरीकि मनोबैज्ञानिक बारवरा फ्रिडिक्सनको अनुसन्धान अनुसार १ः२ को अनुपातको सोचले सकारात्मक व्यवहार प्रदर्शन गर्न सक्दछ भने बैबाहिक जोडिमा गरिएको अध्ययन अनुसार ३ः१ र ५ः१ को अनुपात प्रचलनमा छ । वहाँको अनुसन्धानलाई आधार मान्दा वन क्षेत्रमा कार्यरत कर्मचारीहरुले आफुलाई सकारात्मक बनाउन आफनो सोच्ने शैलीमा परिवर्तन ल्याउन जरुरी छ । सकारात्मक सोचको विकासः वैज्ञानिक आधार, नेपाली वन सन्दर्भ र रणनीति निगेटिभिटी बायसले किन हाम्रो दिमाग नकारात्मकतातिर धकेलिन्छ? मानव मस्तिष्क विकासक्रमको क्रममा यसरी ढालिएको छ कि उसले खतरा र असफलता लाई सफलता र अवसरभन्दा धेरै छिटो पहिचान गर्छ। यसलाई नकारात्मकताको पक्षधरता  भनिन्छ। वैज्ञानिक अध्ययन ( Baumeister et al=  २००१) अनुसार, एउटा नकारात्मक घटनाले पाँचवटा सकारात्मक घटनाको प्रभावलाई निस्तेज गर्न सक्दछ । यसको अर्थ, यदि कुनै वन अधिकृतले १०० हेक्टर वन रोप्ने सफल काम गरे, तर सँगै एउटा सानो डढेलोको घटना भयो भने, दिमागले डढेलोलाई नै बढी सम्झनेछ र त्यसैको बढी विश्लेषण गर्नेछ। यो नकारात्मकता कसैको व्यक्तिगत दोष होइन; यो हाम्रो पुरानो सुरक्षा प्रणाली हो जसले हामीलाई जोखिमबाट जोगाउन खोज्दछ। तर वन संरक्षणको जटिल क्षेत्रमा, जहाँ दैनिक डढेलो, अतिक्रमण, मानव–वन्यजन्तु द्वन्द्व, र स्रोत अभाव जस्ता चुनौती छन्, यही अत्यधिक नकारात्मकताले नवप्रवर्तन लाई मार्ने काम गर्छ। 
 
नेपाली वन कार्यालयमा नकारात्मकताको चक्र नेपालको वन क्षेत्रमा यो प्रवृत्ति अत्यन्तै स्पष्ट देखिन्छ। जब कुनै डिभिजन वन कार्यालयले नयाँ सामुदायिक वन व्यवस्थापन योजना प्रस्तुत गर्छ, सहकर्मीहरूको पहिलो प्रतिक्रिया प्रायः नकारात्मक हुन्छ जस्तैः “यो सम्भव छैन, जनता मान्दैनन्, बजेट छैन, माथिबाट साथ छैन, अघिल्लो पटक असफल भयो।” आदी ईत्यादी । वन अधिकृतले “गस्ती गरेर मात्र अतिक्रमण रोकिन्न” भन्ने नयाँ विचार राख्दा, अरूले “त्यो त हामीले सधैं गर्दै आएको हो, नयाँ के छ र?” भन्ने टिप्पणी गर्छन्। यसरी, नकारात्मक सोचको एक दुष्चक्र चलिरहन्छ, जसले पुरानै पद्धतिलाई निरन्तरता दिन्छ र वन क्षेत्रमा आवश्यक परिवर्तनको गतिलाई सुस्त बनाइदिन्छ। यस चक्रलाई तोड्न सचेत प्रयास र वैज्ञानिक रणनीति चाहिन्छ। फ्रेडरिक्सनको अनुपात – नकारात्मकताको वैज्ञानिक समाधान अमेरिकी सकारात्मक मनोवैज्ञानिक बारबरा फ्रेडरिक्सनले यस समस्याको वैज्ञानिक समाधान प्रस्तुत गरिन्। उनको ‘ब्रोडेन–एन्ड–बिल्ड थ्योरी’  ले दुई महत्त्वपूर्ण अनुपात दिन्छ। पहिलो, ३ः१ अनुपात, यदि एउटा नकारात्मक घटनाको जवाफमा तीनवटा सकारात्मक सोच वा कदम राखियो भने टोलीको सोच्ने शैली परिवर्तन हुन्छ र यो दिगो रूपान्तरणको आधार बन्छ। दोस्रो, वैवाहिक सम्बन्ध र उच्च प्रदर्शन गर्ने टोलीहरूको लागि ५ः१ अनुपात (पाँच सकारात्मक ः एक नकारात्मक) सुनौलो मानिन्छ। मनोवैज्ञानिक जोन गोटम्यानको ७०० जोडीमा गरिएको अध्ययनले के देखाएको छ भने जहाँ यो ५ः१ अनुपात कायम हुन्छ, त्यहाँ सम्बन्ध सुखी र दीर्घकालीन हुन्छ। तर १ः१ भन्दा तल झरेमा सम्बन्ध समाप्तिको बाटोमा जान्छ। स्वस्थ सम्बन्धको लागि उपयुक्त सीमा ५ः१ देखि ११ः१ बीच मानिन्छ, तर १३ः१ भन्दा माथिको अतिसकारात्मकता पनि अवास्तविक हुन्छ। 
 
वन कार्यालयमा अनुपातको व्यावहारिक प्रयोग अब यसलाई कोशी प्रदेशको वन कार्यालयको सन्दर्भमा जोडौं। एक डिभिजन वन कार्यालयमा दैनिक दर्जनौं नकारात्मक घटना पनि सक्दछन । डढेलोको सूचना, अतिक्रमणको उजुरी, जनताको गुनासो, बजेट अभाव, कर्मचारीको अनुपस्थिति, आदि। यदि कार्यालय प्रमुखले प्रत्येक नकारात्मक घटनाको जवाफमा तीनवटा सकारात्मक कदम (जस्तैः समाधानको योजना, पहिलेको सफलताको सम्झना, सिकाइको बिन्दु) राख्छन् भने, पूरै टिमको सोच्ने शैली परिवर्तन हुन्छ। उदाहरणको लागि, जब “डढेलो लाग्यो” भन्ने नकारात्मक समाचार आउँछ, नकारात्मक नेतृत्वले के भन्न सक्दछ भने “के गर्नु, हरेक वर्ष यही हुन्छ।” तर सकारात्मक सोच भएको नेतृत्वले के भन्छ भने “यो डढेलोले हामीलाई तीन पाठ सिकाउन सक्दछ जस्तैः (१) प्रारम्भिक चेतावनी प्रणाली कमजोर छ, (२) स्थानीय समुदायलाई थप तालिम चाहिन्छ, (३) पानीको स्रोतको नक्सा बनाउन बाँकी छ। अब यी तीनवटैमा सुधार गरौं।” यसरी एउटै नकारात्मक घटना सिकाइ र नवप्रवर्तनको स्रोत बन्न सक्दा यो नै फ्रेडरिक्सनको ३ः१ अनुपातको व्यावहारिक प्रयोग हुन्छ ।
 
सकारात्मक सोचले दिमागमा के परिवर्तन ल्याउँछ? नेपालको वन क्षेत्रमा सकारात्मक सोचको विकास केवल व्यक्तिगत मनोबलको विषय मात्र होइन; यो सम्पूर्ण वन संरक्षण प्रणालीको रूपान्तरण को आधार हो। जब वन अधिकृतहरूले सचेत भएर नकारात्मक टिप्पणी गर्नुअघि केही समय शान्त भएर मौन बस्दछन तब उनीहरूको दिमागले पुरानो नकरात्मक पक्षधरता लाई तोड्दै न्यूरोप्लास्टिसिटी (नयाँ स्नायु मार्ग) बनाउँदछ। फ्रेडरिक्सनको अनुसन्धान अनुसार सकारात्मक सोचले दिमागलाई फराकिलो बनाउँछ, जसले गर्दा एकैपटक धेरै समाधान देख्न सकिन्छ, र त्यसले दीर्घकालीन संसाधन  सिर्जना गर्दछ । जस्तैः “सामुदायिक वन ठप्प छ” भन्ने सुन्नासाथ सकारात्मक अधिकृतले “यसलाई पुनर्जीवित गर्न तीन उपायः (१) युवा समूहलाई जिम्मेवारी दिने, (२) वन पैदावारको बजारीकरण गर्ने, (३) स्थानीय सरकारसँग सहकार्य गर्ने” भनेर प्रस्तुत गर्न सक्दछन । यसरी सकारात्मक सोचले डढेलो, अतिक्रमण, स्रोत अभाव जस्ता समस्यालाई अवसर मा बदल्न सक्दछ।
 
सकारात्मक नेतृत्वको सुरुवात कोशी प्रदेशको वन क्षेत्रमा, यदि हरेक कर्मचारीले दैनिक सफलताको डायरी राख्ने, साप्ताहिक बैठकमा “यो हप्ता के राम्रो भयो?” भनेर सोध्ने र प्रत्येक असफलतालाई “यसले के सिकायो?” भन्ने विषयमा वहस गर्ने बानी बसाल्ने हो भने, त्यो कार्यालयमा नकारात्मकता अन्त्य भई सकारात्मक नेतृत्वको प्रयोगशाला बन्न सक्दछ । यदि सबै डिभिजन वा प्रदेश वन कार्यालयका प्रमुखले आफ्नो टोलीका सदस्यहरुलाई आलोचना वा सुधारको सुझाव दिँदा पाँचवटा प्रशंसा, प्रोत्साहन, वा आभार व्यक्त गर्ने बानी बसाल्न सक्ने हो भने सबै कार्यालयहरुमा सकारात्मक साँस्कृतिक बिकास हुन सक्दछ । यसरी, ५ः१ अनुपात केवल वैवाहिक सुखको सूत्र मात्र नभई प्रभावकारी नेतृत्व र सकारात्मक कार्य संस्कृतिको वैज्ञानिक आधार पनि बन्न सक्दछ । जब सकारात्मक सोच संस्थागत बन्छ, तब मात्र वन अतिक्रमण, अवैध कटान, र डढेलो जस्ता समस्या समाधान हुन सक्दछन किनभने सकारात्मक सोचले मात्र त्यस्तो प्रकारको सामूहिक ऊर्जा दिन्छ, जुन वन संरक्षण जस्तो गंम्भिर विषयमा चाहिन्छ। सकारात्मक रुपान्तरणको लागि सचेत भएर टिप्पणी गर्ने अभ्यास नै यो यात्राको पहिलो कदम हो।
 विविधताको व्यवस्थापन  
तालिमका सहभागीहरुलाई बिबिधता व्यवस्थापनको लागि सैद्धान्तिक तथा व्यवहारीक ज्ञानको महशुश गराउन कार्टुन सार्ने खेल खेलाइयो । वन मन्त्रालय अन्तरगतका मन्त्रालय, डिभिजन वन कार्यालय र सब–डिभिजन कार्यालयहरूमा विविधता व्यवस्थापन भनेको कर्मचारी, प्राविधिक जनशक्ति, सुरक्षाकर्मी, र स्थानीय समुदायसँग समन्वय गरेर विभिन्न तहका व्यक्तिहरूको बीचमा रहेको भिन्नता (जस्तैः शैक्षिक पृष्ठभूमि, अनुभव, सोचाई, काम गर्ने शैली, लिङ्ग, उमेर, सीप, र भौगोलिक परिधि) लाई पहिचान गरी त्यसलाई टिमको बलियो पक्षमा परिणत गर्ने प्रक्रिया हो। उदाहरणका लागि, मन्त्रालयमा नीति बनाउने उच्च अधिकारीहरू र डिभिजन कार्यालयमा कार्यक्रम कार्यान्वयन गर्ने प्राविधिकहरूको दृष्टिकोण फरक हुन सक्दछ। कसैले प्रशासनिक नियमलाई प्राथमिकता दिन्छन्, त कसैले जंगलको वास्तविक अवस्थालाई। कसैले पुरानो परम्परागत गस्ती पद्धतिमा विश्वास गर्छन्, त कसैले नयाँ प्रविधि (ड्रोन, जीआईएस) र स्मार्ट योजनाको वकालत गर्छन्। विविधता व्यवस्थापनको अभावमा यिनै भिन्नताहरू द्वन्द्व, ढिलासुस्ती, र अप्रभावकारी संरक्षणको कारण बन्न सक्छन्। तर यदि यी विविधतालाई व्यवस्थित गरियो भने पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको आविष्कार, महिला कर्मचारीको सूक्ष्म अवलोकन क्षमता र पुरुष कर्मचारीको भौतिक सहनशक्ति, केन्द्रको नीति र स्थानीयको परम्परागत ज्ञान आदी सबैलाई सन्तुलनमा राखी वन संरक्षणलाई थप प्रभावकारी बनाउन सकिन्छ। 
 
विविधता व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरू 
वन मन्त्रालय र यसका आबद्ध कार्यालयहरूमा विविधता व्यवस्थापनलाई प्रभावकारी बनाउन पहिलो उपाय भनेको एकीकृत टिम भावना र साझा लक्ष्यको निर्माण हो। सबै तहका कर्मचारीलाई ‘हाम्रो साझा लक्ष्य वनको दिगो संरक्षण हो’ भन्ने मानसिकताले जोड्नुपर्छ, उनीहरूको भिन्न पृष्ठभूमिलाई कमजोरीको रूपमा नभई पूरकको रूपमा हेर्नुपर्छ। दोस्रो, नियमित अन्तक्र्रिया र खुला छलफलको संस्कार विकास गर्नुपर्छ जस्तैः मन्त्रालय र डिभिजनबीच मासिक संवाद, वा सब डिभिजनका कर्मचारीको अनुभव साझेदारी गर्ने कार्यक्रम। तेस्रो, क्षमता विकास र सिप साटासाट को कार्यक्रम चलाउनुपर्छ र पुराना कर्मचारीलाई डिजिटल मोनिटरिङ तालिम दिने, नयाँ कर्मचारीलाई स्थानीय वनसम्बन्धी परम्परागत ज्ञान सिकाउने। चौथो, प्रशासनिक र निर्णय प्रक्रियामा समावेशीकरणः सबै उमेर, लिङ्ग, र क्षमताका व्यक्तिलाई योजना बनाउँदा र कार्यान्वयन गर्दा स्थान दिने, ताकि कोही सीमान्तकृत नहोस्। अन्त्यमा, ‘कार्टुन सार्ने खेल’ जस्ता टिम विल्डिङ्ग अभ्यासहरू नियमित रूपमा कार्यालयहरूमा आयोजना गर्नुपर्छ जसले यथार्थमै विविधता भएका टिमलाई कसरी सानो ध्यान, भूमिकाको सही बाँडफाँड, र एकता कायम गरेर ठूला संरक्षणका लक्ष्य हासिल गर्न सकिन्छ भन्ने सिकाउँछ। जब मन्त्रालयको नीति, डिभिजनको कार्यान्वयन, र उप–डिभिजनको मैदानी अनुभव बीच सामञ्जस्य हुन्छ तब त्यही नै साँचो विविधता व्यवस्थापन हो र त्यसले वनलाई गस्तीले मात्र होइन, स्मार्ट र सामूहिक प्रयासले जोगाउन सकिने वास्तविकता स्थापित गर्छ।
 
के बन जोगाउन गस्ति अनिवार्य छ ? 
एक्काइसौं शताब्दीमा वन जोगाउन परम्परागत गस्ती मात्र प्रयाप्त छैन किनभने विज्ञान र प्रविधिले यसलाई अझ प्रभावकारी विकल्पहरू प्रदान गरेका छन्। उपग्रह र ड्रोन प्रविधिले वनको नियमित निगरानी गर्न सक्दछ । एउटा ड्रोनले एक घण्टामा ५० जनाले एक दिनमा गर्ने क्षेत्रफलको सर्वेक्षण गर्छ। तर प्रविधि गस्तीको पूर्ण विकल्प होइन, यसले गस्तीलाई स्मार्ट बनाउँछ। थर्मल क्यामरा, मोसन सेन्सर, र जीपीएस ट्र्याकिङले अवैध गतिविधि स्वतः पत्ता लगाउँछ। त्यस्तै, स्थानीय साझेदारी गस्तीभन्दा शक्तिशाली हुन्छ। नेपालको सामुदायिक वन कार्यक्रमले के देखाएको छ भने जब स्थानीय समुदायलाई वनको अधिकार र जिम्मेवारी दिइन्छ, उनीहरू आफैं २४ घण्टा निगरानी र अतिक्रमण रोकथाममा सक्रिय हुन्छन्। गस्ती प्रतिक्रियात्मक  रणनीति हो भने स्थानीय साझेदारी रोकथामात्मक  रणनीति हो। यसर्थ, गस्ती रोक्नु होइन, बरु यसलाई प्रविधि र स्थानीय साझेदारीले प्रतिस्थापन गर्नुभन्दा पूरक बनाउनु बुद्धिमानी हो। पूर्वानुमानयुक्त योजना र अन्तिम निष्कर्ष तेस्रो र सबैभन्दा बुद्धिमानी विकल्प हो पूर्वानुमानमा आधारित योजना। जीआईएस, स्याटेलाइट इमेजरी, र एआई–आधारित मोडलिङले अतिक्रमण हुन सक्ने क्षेत्रको पहिचान पहिल्यै गरेर म्यापिङ र जोखिम मूल्याङ्कन गर्छ। एउटा राम्रो पूर्वसूचना प्रणालीले सयौं गस्तीको आवश्यकता हटाउन सक्छ। अनियमित गस्तीको तुलनामा लक्षित गस्ती ९०% प्रभावकारी हुन्छ। 
 
अन्तिम निष्कर्ष के हो भने, एक्काइसौं शताब्दीमा पुरानो अर्थको गस्ती अनिवार्य छैन, तर गस्तीको आत्मा अर्थात् ‘वनप्रति नजर राख्ने क्रिया’ अनिवार्य छ। त्यो नजर प्रविधिले (ड्रोन, उपग्रह) राखेर स्थानीय समुदायलाई ध्यान दिएर वा योजनाको नक्साले राख्नु पर्दछ । मुख्य कुरा वनको अनुगमन रोकिनु हुँदैन। 
  •  प्रविधि + स्थानीय साझेदारी + पूर्वानुमानयुक्त योजना = यो समीकरणले गस्तीलाई पुरानो बोझ नभई नयाँ अवसर बनाउँछ। तब मात्र वन संरक्षण दिगो र प्रभावकारी बन्न सक्छ। 
मुख्य सिकाइहरू र निष्कर्षः 
तालिमबाट प्राप्त सबैभन्दा महत्वपूर्ण सिकाइहरू निम्नानुसार छनः
 
१. सकारात्मक सोच वैज्ञानिक तथ्य हो, केवल प्रेरणा होइन 
  • नकारात्मकता हाम्रो दिमागको पुरानो सुरक्षा प्रणाली हो, तर यसलाई न्यूरोप्लास्टिसिटी (मस्तिष्क पुनर्संरचना) मार्फत परिवर्तन गर्न सकिन्छ। 
  • बारबरा फ्रेडरिक्सनको ३ः१ अनुपात (एक नकारात्मक घटनामा तीन सकारात्मक कदम) र ५ः१ अनुपात (पाँच प्रशंसाः एक आलोचना) ले व्यक्ति र टोलीको सोच्ने शैली नै परिवर्तन गर्छ। 
  • दैनिक सफलताको डायरी राख्ने, “यो हप्ता के राम्रो भयो?” सोध्ने बानीले डोपामिन र अक्सिटोसिन हर्मोन स्राव बढाई कार्यालयको वातावरण नै सकारात्मक बनाउँछ। 
२. विविधता व्यवस्थापन नै टिम सफलताको गुठी हो 
  • ‘कार्टुन सार्ने खेल’ ले व्यावहारिक रूपमा के सिकायो भने विभिन्न क्षमता, उमेर, लिङ्ग, सोचाइ भएका व्यक्तिहरूको समूह विविधता मात्र नभई एक संगठीत शक्ति हो। 
  • विविधता व्यवस्थापनको अभावमा द्वन्द्व र ढिलासुस्ती हुन्छ; तर सही व्यवस्थापन गर्न सकियो भने पुरानो पुस्ताको अनुभव + नयाँ पुस्ताको प्रविधि + स्थानीय ज्ञान = अभूतपूर्व संरक्षण सफलता। 
३. ‘एफरमेसन राइटिङ थेरापी’ (प्रशंसा लेखन अभ्यास) अत्यन्त प्रभावकारी 
  • एकै पटक २० जनाको सबल पक्ष लेख्दा दिमागमा डोपामिन (उत्साह), अक्सिटोसिन (विश्वास), र मिरर न्यूरन (प्रतिबिम्ब) एकैसाथ सक्रिय बनायो 
  • यो अभ्यास हरेक बिहान ५ मिनेट गर्ने बानीले कार्यालयको समग्र मानसिक स्वास्थ्य र टिमवर्कमा आश्चर्यजनक सुधार ल्याउँछ।
४. वन संरक्षणमा गस्ती अनिवार्य छैन, स्मार्ट निगरानी आवश्यक छ: 
  • ड्ड्रोन, उपग्रह, जीआईएस, एआई–आधारित पूर्वसूचना प्रणालीले सयौं गस्तीको आवश्यकता हटाउँछ। 
  • स्थानीय सामुदायिक साझेदारी (जस्तैः सामुदायिक वन) २४ घण्टा निगरानीको सबैभन्दा सस्तो र दिगो माध्यम हो। 
  • ड्प्रविधि + स्थानीय साझेदारी + पूर्वानुमानयुक्त योजना = यो समीकरण नै एक्काइसौं शताब्दीको वन संरक्षणको सूत्र हो।
 
 ५. सकारात्मक नेतृत्वको सुरुवात आफैंबाट हुन्छ:
 
  •  प्रत्येक असफलतालाई “यसले के सिकायो?” भनेर हेर्ने बानीले डढेलो, अतिक्रमण, अभाव जस्ता समस्यालाई अवसरमा बदल्न सकिन्छ। 
  • सचेत भएर मात्र नकारात्मक टिप्पणी गर्नुअघि रोक्ने, सोच्ने, र सकारात्मक विकल्प खोज्ने अभ्यास नै साँचो नेतृत्वको पहिलो कदम हो।


 

अन्तिम सन्देश (तरहराको प्रतिबद्धता)
तरहरा तालिम केन्द्रको यो प्रयास कोशी प्रदेशका वन कार्यालयहरूमा सकारात्मक रुपान्तरणको सुरुवाती बिन्दु मात्र हो। यहाँ सिकेका पाँच सूत्रीय ज्ञान 
(१) सकारात्मक सोचको विज्ञान, 
(२) विविधता व्यवस्थापन, 
(३) प्रशंसा लेखन अभ्यास, 
(४) स्मार्ट निगरानी, 
(५) आत्म–नेतृत्व । 
यदि प्रत्येक कर्मचारीले यहाँ सिकेका ज्ञान आफ्नो दैनिक कार्यालयमा लागू गरे भने, वन संरक्षणको सम्पूर्ण परिदृश्य नै बदलिन सक्छ। तरहराको वन अनुसन्धान तथा तालिम केन्द्रमा सम्पन्न चारदिने ‘सकारात्मक सोच तथा नेतृत्व विकास’ तालिमले कोशी प्रदेशका विभिन्न डिभिजन तथा उप–डिभिजन वन कार्यालयहरूमा कार्यरत २१ जना उर्जाशील वन प्राविधिकहरूको मानसिकता, व्यवहार, र कार्यशैलीमा गहिरो परिवर्तनको बीउ रोपेको छ। यो तालिम केवल प्राविधिक सीपको विकास मात्र होइन, सम्पूर्ण वन प्रशासनको सकारात्मक रुपान्तरणको आधारशिला साबित हुने क्षमता राख्दछ। तालिमको अन्त्यमा सहभागीहरूले के महसुस गरे भने “वन संरक्षणको चुनौती प्राविधिक मात्र होइन, यो मानसिक र नेतृत्वको चुनौती पनि हो।” जबसम्म हामी आफैं सकारात्मक सोच र विविधता व्यवस्थापनमा सक्षम हुँदैनौं, तबसम्म डढेलो, अतिक्रमण, अवैध कटान, र स्रोत अभाव जस्ता समस्याको दिगो समाधान सम्भव छैन। तरहराको यो प्रयासले के देखाएको छ भने सानो तर वैज्ञानिक अभ्यासले ठूलो परिवर्तनको ढोका खोल्न सक्दछ। यस तालिममा सबैले महशुश गरको कुरा के थियो भने सकारात्मक सोच संस्थागत भएपछि मात्र डढेलो निभ्छ, अतिक्रमण रोकिन्छ, र वनमा दिदी बहिनीहरू सुरक्षित हुन्छन्। यो परिवर्तनको यात्रा तरहराबाट सुरु भएको छ र अब यो निरन्तरता दिनु हरेक सहभागीको कर्तव्य हो। “सकारात्मक सोचको एउटा सानो बिउले देशभरीको वनलाई नै हराभरा बनाउन सक्छ।” 

Comments

Popular posts from this blog

सिंगापुरका प्रधानमन्त्री लि क्वान यु को झल्को दिने प्रम बालेन शाहको कदम

सैलुनदेखि सिंहदरबारसम्म : रुबीको यात्राले ध्वस्त पार्यों पुरानो मानसिकता

सभापति रविलाई नमागेको सुझावः दादागिरीले पतन ल्याउँछ, विनम्रताले र लोकप्रियता बढाउँदछ