सभापति रविलाई नमागेको सुझावः दादागिरीले पतन ल्याउँछ, विनम्रताले र लोकप्रियता बढाउँदछ

डा. आर सी लामिछाने 

नेपालको राजनीतिक इतिहासले बारम्बार एउटा गहिरो सत्य प्रमाणित के गरेको छ भने पार्टीहरू घोषणापत्रले जन्मिन्छन्, तर नेतृत्व शैलीले टिक्छन् वा समाप्त हुन्छन्। लामो इतिहास बोकेका धेरै राजनीतिक दलहरू आज जनविश्वास गुमाएर राजनीतिक कोमामा पुगेका छन्। कारण केवल वैचारिक कमजोरी होइन; मुख्य कारणहरु नै नेतृत्वको अहंकार, असंवेदनशीलता, नकारात्मकता र जनभावनालाई नबुझ्ने प्रवृत्ति हो। अहिलेका जनता नेता सरह नै वा त्यो भन्दा वढी सुसुचित, सभ्य र सक्षम छन । जनता अब केवल भाषण, नारा र आरोप–प्रत्यारोपले प्रभावित हुँदैनन्। उनीहरूले सम्मान, परिणाम, सुशासन र मानवीय व्यवहार खोजिरहेका छन्। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित सबै राजनीतिक दलहरूले  प्रशंसनीय नेतृत्वको अभ्यास गर्न अत्यन्त आवश्यक भएको छ।नेतृत्व भनेको पद होइन, प्रभाव हो। पदले अधिकार दिन्छ तर प्रभावले इतिहास बनाउँदछ। सांसद, मन्त्री, सभापति वा प्रधानमन्त्री हुनु ठूलो कुरा होइन; ठूलो कुरा त त्यो पदबाट समाजमा कस्तो ऊर्जा, कस्तो आशा र कस्तो भरोसा सिर्जना भयो भन्ने हो। यदि नेतृत्वले डर, विभाजन, घृणा र प्रतिशोध मात्र उत्पादन गर्दछ भने त्यो नेतृत्व होइन, केवल अस्थायी शक्ति प्रदर्शन हो। साँचो नेतृत्वले मानिसलाई माथि उठाउँदछ, डराउँदैन; जोड्छ, तोड्दैन; प्रेरित गर्छ, अपमान गर्दैन।

Positive Psychology  ले स्पष्ट के भन्द छ भने मानिसलाई स्थायी रूपमा बदल्ने शक्ति डर होइन, सम्मान हो; आदेश होइन, अर्थपूर्ण सम्बन्ध हो।    Appreciative Leadership  यही सिद्धान्तमा आधारित छ। यसले समस्या मात्र खोज्दैन, सम्भावना पनि देख्छ। यसले “को दोषी छ?” भन्दा “हामीसँग के सम्भावना छ?” भन्ने प्रश्नलाई केन्द्रमा राख्दछ। जब नेताले नागरिकको पीडा सुन्ने ईच्छा देखाउदछ र नागरीकहरुको क्षमता पहिचान गरेर समस्या समाधानमा साझेदारी खोज्दछ तब जनविश्वास निर्माण हुन्छ। नेपाललाई अहिले यस्तै नेतृत्वको आवश्यकता छ।

दक्षिण अफ्रिकाका
  Nelson Mandela Appreciative Leadership का विश्वकै उत्कृष्ट उदाहरण हुन्। २७ वर्ष जेल जीवन बिताएर पनि उनले प्रतिशोध नपाली मेलमिलाप रोजे। यदि उनले सत्ता पाएपछि केवल बदला लिन खोजेका भए दक्षिण अफ्रिका गृहयुद्धमा डुब्न सक्थ्यो। तर उनले “हामीलाई शत्रु होइन, साझेदार चाहिन्छ” भने र त्यही अनुसार व्यवाहार गरे। उनले विभाजनलाई संवादमा बदले, पीडालाई राष्ट्रिय उपचारमा बदले। यही प्रशंसनीय नेतृत्वले राष्ट्रलाई बचायो। नेपालमा पनि राजनीतिक प्रतिस्पर्धा प्रतिशोध नभई राष्ट्र निर्माणको साझेदारी बन्नुपर्छ।

Deng Xiaoping  ले चीनलाई रूपान्तरण गर्दा विचारधारात्मक कठोरतालाई त्यागेर व्यवहारिक सकारात्मकता अपनाए। उनले विश्व प्रसिद्ध बिचार “बिरालो कालो होस् वा सेतो, मुसा समात्छ भने त्यो राम्रो बिरालो हो”। यसको अर्थ स्पष्ट छ की जनताको जीवन सुधार्ने नीति नै सही नीति हो। उनले दोष खोजेर समय खर्च गरेनन बरु सम्भावना खोजेर राष्ट्रलाई उठाए। आज चीनको आर्थिक रूपान्तरणको आधार यही व्यावहारिक र प्रशंसनीय नेतृत्व हो। नेपाललाई पनि नाराभन्दा परिणाम दिने नेतृत्व चाहिन्छ।

Lee Kuan Ye  ले सानो, स्रोतविहीन     Singapore  लाई विश्वको उत्कृष्ट राष्ट्रमध्ये एक बनाए। उनले जनतालाई भ्रम बेचेननः अनुशासन, पारदर्शिता र उत्कृष्टताको संस्कार दिए। उनले नेतृत्वलाई विशेषाधिकार मानेन वरु उत्तरदायित्व माने। उनले भने “यदि तपाईं जनताको जीवन राम्रो बनाउन सक्नुहुन्न भने तपाईंको नेतृत्वको कुनै अर्थ छैन।” सत्तालाई सेवा बनाउने कला नै   Appreciative Leadership  को सार हो । नेपालका नेताहरू र विशेष गरी रास्वपाका नेताहरुले पनि यही सन्देश बुझ्नु सक्नु पर्दछ ।

रास्वपाका सभापति आफ्नो शालीनता, सभ्यता र सुमधुर वक्तृत्वकलाका कारण लोकप्रिय र जिम्मेवार देखिन्छन्। तर पार्टीभित्रका केही प्रतिनिधिहरूको दादागिरीपूर्ण, आक्रामक र असभ्य प्रस्तुति जनतामा गम्भीर नकारात्मक सन्देश दिएकोछ जुन निकै गंभिर छ । नेतृत्वको वास्तविक परीक्षा मञ्चको भाषणमा होइन, दबाबको क्षणमा देखिने व्यवहारमा हुन्छ। यदि केही नेताहरूले शक्ति प्रदर्शनलाई नै प्रभाव ठान्छन् भने त्यसले पार्टीको सामाजिक प्रतिष्ठामा गहिरो क्षति पु¥याउँदछ। जनताले पार्टीलाई घोषणापत्रभन्दा पहिले नेताको व्यवहारबाट मूल्यांकन गर्दछन र अहिले रास्वपा त्यही कशीमा छ । 


 Appreciative Leadership  को पहिलो आधार भनेको नै    Strength–based  दृष्टिकोण हो। यसको अर्थ, “कसको कमजोरी के हो?” भन्दा “कसको क्षमता के हो?” भन्ने प्रश्नलाई केन्द्रमा राख्नु हो । उदाहरणका लागि, कुनै गाउँमा बेरोजगारी समस्या छ भने केवल सरकारलाई दोष दिएर समाधान हुँदैन। त्यहाँका युवामा सीप छ, श्रम छ, ऊर्जा छ भने त्यसलाई संगठित गर्ने नेतृत्व चाहिन्छ। यदि नेताले युवालाई समस्याको रुपमा भन्दा सम्भावनाक रुपमा हेर्न सक्दछ भने गाउँ आफैं परिवर्तनको प्रयोगशाला बन्न सक्दछ।

दोस्रो आधार भनेको सम्मानजनक संवाद। संसद, सभा, टेलिभिजन वा सामाजिक सञ्जालमा अपमान, व्यंग्य र व्यक्तिगत आक्रमणले क्षणिक ताली त पाउन सक्दछ, तर दीर्घकालीन विश्वास गुमाउँदछ। लोकतन्त्र बहसको प्रणाली हो युद्धको मैदान होइन। जब नेताले असहमति भएको व्यक्तिलाई पनि सम्मानपूर्वक सुन्न सिक्दछ, त्यहीँबाट सभ्य राजनीति सुरु हुन्छ। आज नेपालमा भाषाको हिंसा पनि ठूलो समस्या बनेको छ, जसले सामाजिक विभाजनलाई अझ गहिरो बनाइरहेको छ।

तेस्रो आधार भनेको उदाहरणद्वारा नेतृत्व। जनता नेताले के भने भन्नेभन्दा बढी, के गरे भन्ने कुरा हेर्दछन । यदि नेता आफैं अनुशासनहीन, असभ्य र जिम्मेवारीविहीन छन् भने उनीहरूले सुशासनको भाषण गर्दा त्यो खोक्रो सुनिन्छ। ब्
     Appreciative Leadership n] æBe the changeÆ को सिद्धान्त अपनाउँदछ। परिवर्तन भाषणबाट होइन, उदाहरणबाट फैलिन्छ। यदि नेताले समयपालन गर्दछ, पारदर्शी हुन्छ, आलोचना सहन्छ र नागरिकसँग विनम्र रहन्छ भने त्यो नै सबैभन्दा प्रभावकारी राजनीतिक शिक्षा हो।

नेपालको इतिहासमा महत्वपूर्ण राजनीतिक परिवर्तनहरू जनआन्दोलन, संघर्ष र बलिदानबाट आएका छन्। पञ्चायतको अन्त्य, बहुदलीय व्यवस्था, गणतन्त्र स्थापना आदी सबै ऐतिहासिक उपलब्धि हुन्। तर जनताले अझै अपेक्षित सुशासन किन पाएका छैनन । कारण स्पष्ट छ की संरचना बदलियो, तर नेतृत्व शैली पर्याप्त रूपमा रूपान्तरित भएन। पुरानो सोच नयाँ कुर्सीमा बसिरह्यो। प्रणाली बदलियो, संस्कार बदलिएन। त्यसैले अब केवल संविधान होइन, चेतनाको रूपान्तरण आवश्यक छ।

रास्वपा जस्तो नयाँ दलका लागि यो अझै महत्वपूर्ण किन छ भने नयाँ दलको सबैभन्दा ठूलो पूँजी जनविश्वास हो। यदि त्यो विश्वास व्यवहारगत कमजोरीका कारण घट्न थाल्यो भने छोटो इतिहासको कथा मात्र बाँकी रहन्छ। जनमत अत्यन्त संवेदनशील हुन्छ; मानिसले केही समय सम्म मात्र आशा गर्दछन तर विश्वासघातलाई माफ गर्दैनन। लोकप्रियता जित्न गाह्रो छ, तर गुमाउन केही क्षण नै पर्याप्त हुन्छ र रास्वपा केही माननीयहरुको कारण रास्वपा लोकप्रियता गुमाउने मार्गमा छ । 

क्रियाको विपरीत प्रतिक्रिया हुन्छः यो केवल विज्ञानको नियम होइन, सामाजिक सत्य पनि हो। यदि नेताले अपमान दिन्छ भने समाजले कुनै न कुनै रूपमा प्रतिक्रिया दिन्छ। केही समय मानिस चुप लाग्न सक्दछन्, तर निरन्तर घृणा, असभ्य व्यवहार र शक्ति प्रदर्शनले अन्ततः प्रतिवाद जन्माउँदछ। त्यसबेला कस्तो बिडम्वना हुन्छ भने सरकारले गरेका राम्रा कामहरू पनि ओझेलमा पर्न थाल्दछन ।  एउटा खराब व्यवहारले सयौं राम्रो कामलाई कमजोर बनाउन सक्दछ र देश भरीका मिडियमा तीनै खराव कामको मात्रै चर्चा हुन्छ जस्तै अहिले केही दादागीरी देखाउने माननीयहरुको चर्चा भए जस्तै । किनभने राजनीति भावनाको विज्ञान पनि हो।

संसदमा भएका रास्वपा लगायतका सबै नेताहरूले के बुझ्नुपर्दछ संसदको कार्यकाल बिचमै विघठन भएन भने पाँच वर्षको हुन सक्दछ, तर समाजसँगको सम्बन्ध आजीवन हुन्छ। चुनाव जितेर सांसद बन्नु अन्तिम उपलब्धि होइन; त्यो त जिम्मेवारीको सुरुवात मात्र हो। संसद विघटन हुन सक्दछ, पद जान सक्दछ, तर समाजमा बाँकी रहने प्रतिष्ठा नै साँचो सम्पत्ति हो। ९९ प्रतिशतभन्दा बढी नागरिक कुनै पदमा छैनन्, तर सम्मानका साथ बाँचिरहेका छन्। नेता पनि अन्ततः यही समाजमा फर्किनुपर्दछ ।

सकारात्मक समाज निर्माण गर्न प्रशंसनीय नेतृत्व तालिम 
-Appreciative Leadership Training_  अब विलासिता होइन, राष्ट्रिय आवश्यकता हो। राजनीतिक दलहरूले आफ्ना सबै तहका नेताहरूलाई संवाद कला, भावनात्मक बुद्धिमत्ता, सकारात्मक सोच, सहकार्य, विवाद व्यवस्थापन र जनसम्बन्धको प्रशिक्षण दिनुपर्दछ । नेतृत्व जन्मजात विशेषाधिकार होइन; यो सिकिने अनुशासन हो। जसरी चिकित्सकले अभ्यास गर्दछन,  शिक्षकले तालिम लिन्छन, त्यसरी नै नेताले पनि नेतृत्वको संस्कार सिक्नु पर्दछ ।

उदाहरणका लागि, यदि कुनै सांसदले आक्रोशमा नागरिकलाई अपमान गर्दछ भने त्यो समाचार केही दिन भाइरल हुन्छ, तर यदि त्यही सांसदले गाउँमा बसेर किसानको समस्या सुन्दछ, समाधानका लागि मन्त्रालयसँग समन्वय गर्दछ र सार्वजनिक रूपमा जवाफदेही बन्दछ भने त्यो विश्वास वर्षौंसम्म टिक्दछ। प्रभावकारी राजनीति लोकप्रिय नाराबाट नभई  निरन्तर सकारात्मक व्यवहारबाट गरिन्छ। जनताले भाषण बिर्सन सक्दछन् तर व्यवहार कहिल्यै बिर्सँदैनन्।

नेपालमा अहिले विकासको भन्दा बढी राजनीतिक विश्वासको संकट छ। सडक, भवन र बजेटका कुरा मात्र पर्याप्त छैनन, नागरिकलाई “यो देश मेरो पनि हो” भन्ने अनुभूति चाहिन्छ। त्यो अनुभूति नीति भन्दा पहिले नेतृत्वबाट आउँदछ। जब नेता सकारात्मक हुन्छन्, समाजमा सकारात्मक कम्पन फैलिन्छ। जब नेतृत्व प्रशंसनीय हुन्छ, जस्तो सुकै परिवर्तन पनि सम्भव र दिगो पनि हुन्छ। नागरिकको सम्मान जहाँ हुन्छ, त्यहीँ राष्ट्र बलियो हुन्छ।

यसैले रास्वपा लगायत सबै राजनीतिक दलहरूले 
  Appreciative Leadership  लाई आफ्नो आन्तरिक संस्कृतिको हिस्सा बनाउनुपर्छ। नेतृत्वको लक्ष्य चुनाव जित्नु मात्र होइन, समाज जित्नु हुनुपर्दछ र रास्वपा अहिले त्यही प्रक्रियामा छ । यदि नेता सकारात्मक, उत्तरदायी, प्रेरणादायी र मानवीय भए भने नेपालमा रूपान्तरण केवल नारामा मात्र सिमित नरही व्यवहारमा नै देखिनेछ। देशलाई बचाउने शक्ति भाषणमा होइन, प्रशंसनीय नेतृत्वमा हुन्छ। नेतृत्व पदको परिचय होइन, इतिहासले सम्झने प्रभाव हो। नेपाललाई सकारात्मक रुपान्तरण गर्न प्रतिवद्धता सहितको शक्तिशाली प्रशंसनीय नेता चाहिएको छ र रास्वपाले त्यो अवसर प्राप्त गरेको छ सकारात्मक तरिकाले सदुपयोग गर्न सकोस शुभकामना । 

Comments

Popular posts from this blog

सिंगापुरका प्रधानमन्त्री लि क्वान यु को झल्को दिने प्रम बालेन शाहको कदम

सैलुनदेखि सिंहदरबारसम्म : रुबीको यात्राले ध्वस्त पार्यों पुरानो मानसिकता