पानीको आकार र लोकतन्त्रको रूप

 डा. आर. सी. लामिछाने


 

पानीको आफ्नै कुनै स्थायी आकार हुँदैन। जुन भाँडोमा राखिन्छ, त्यही आकारमा देखिन्छ। हाम्रो लोकतन्त्रको परिभाषा पनि कताकता त्यस्तै लाग्न थालेको छ: सत्ता अनुसार आकार बदल्ने, पद अनुसार सिद्धान्त फेरिने, र कुर्सी अनुसार नैतिकता तय हुने।प्रतिपक्षमा हुँदा नेताहरूको आवाज क्रान्तिकारी हुन्छ। उनीहरू पारदर्शिता, सुशासन, जनउत्तरदायित्व, भ्रष्टाचारविरोध, युवाको भविष्य, किसानको पीडा, बेरोजगारी, शिक्षा, स्वास्थ्य सबै विषयमा आगो झैँ बोल्छन्। लाग्छ, अब देश बदलिन्छ। अब राजनीति सेवामा बदलिन्छ। अब जनताको दुःख अन्त्य हुन्छ।

तर विडम्बना के छ भने, सत्तामा पुग्नेबित्तिकै ती सबै शब्दहरू मानौँ चुनावी पोस्टरका पुराना रङझैँ फिका हुन थाल्छन्। हिजो “यो गलत हो” भन्ने व्यक्ति आज त्यही गलत कुराको रक्षक बन्छ। हिजो “जनताको अधिकार” भन्ने नेता आज “प्रक्रिया यस्तै हो” भन्दै जिम्मेवारीबाट पन्छिन्छ। हिजो सडकमा उभिएर विरोध गर्ने व्यक्ति आज सत्ताको कुर्सीमा बसेर आलोचना सुन्न पनि तयार हुँदैन।कस्ताे अचम्म ।

के राजनितिज्ञहरुकाे स्मरणशक्तिलाइ पदले निर्धारण गर्दछ?  के याे स्मरणशक्तिको यो राजनीतिक रोग हो ?  प्रतिपक्षमा हुँदा सत्तालाई दिएको भाषण, आरोप र वाचा सबै सत्ता प्राप्तिको ढोकामै हराउँछन्। सत्तामा पुगेपछि पुराना भनाइहरू उनीहरूलाई आफ्नै लाग्दैनन्। फेरि सत्ता गुमेपछि स्मृति फर्किन्छ, र पुरानै क्रान्तिकारी भाषण सुरु हुन्छ। यस्तो लाग्छ, राजनीतिमा कुनै मौसमी रोग फैलिएको छ “कुर्सीजन्य विस्मरण रोग”।

यो रोगको लक्षण स्पष्ट छ:
कुर्सी पाएपछि वाचा हराउने,
पद पाएपछि सिद्धान्त हराउने,
शक्ति पाएपछि विनम्रता हराउने।

न लाज, न शरम केवल बकरबकर।
न आत्मसमिक्षा, न उत्तरदायित्व केवल आरोप–प्रत्यारोप।

जनताले पनि कहिलेकाहीँ अचम्म मान्छन्: उही अनुहार, उही आवाज, उही भाषण; तर व्यवहार सधैं उल्टो। चुनावमा “सेवा” भन्ने, जितेपछि “सुविधा” खोज्ने। उम्मेदवार हुँदा “जनताको घर” भन्ने, सत्तामा पुगेपछि “सुरक्षाको घेरा” भित्र हराउने।

Pic: Internet

 प्रश्न उठ्छ यस्ता संक्रमित राजनीतिक संस्कारबाट देश विकास सम्भव छ?
के यस्तै सोचबाट नयाँ समाज निर्माण हुन्छ?
के लोकतन्त्र केवल चुनाव जित्ने खेल मात्र हो?
कि लोकतन्त्र भनेको नै जनविश्वासको निरन्तर सम्मान हो?

वास्तविक समस्या दल परिवर्तनमा होइन, राजनीतिक संस्कार परिवर्तन नहुनुमा छ। संविधान बदलियो, व्यवस्था बदलियो, झण्डा बदलियो, नारा बदलियो तर सोच उही रह्यो। पुरानो प्रवृत्ति नयाँ कुर्सीमा बसिरह्यो। यही कारणले जनतामा निराशा बढिरहेको छ।

देशलाई आज नयाँ भाषण होइन, नयाँ व्यवहार चाहिएको छ।
नयाँ पार्टी होइन, नयाँ राजनीतिक संस्कृति चाहिएको छ।
सत्ता होइन, सेवा चाहिएको छ।
दादागिरी होइन, उत्तरदायित्व चाहिएको छ।

लोकतन्त्र पानी जस्तो लचिलो हुन सक्छ, तर सिद्धान्त पानीजस्तो बगिरहने हुनुहुँदैन। नेतृत्वको चरित्र भाँडो अनुसार बदलिनु हुँदैन। जनताको विश्वास बारम्बार धोका सहन सक्दैन।

अब प्रश्न नेताहरूलाई मात्र होइन, नागरिकलाई पनि छ
हामी कहिलेसम्म शब्दमा भोट दिने?
कहिलेसम्म भाषणलाई विकास सम्झिने?
कहिलेसम्म बिर्सनेहरूलाई फेरि विश्वास गर्ने?

यदि नागरिकले स्मरण शक्ति बलियो बनाए, भने नेताहरूको मौसमी रोग आफैं निको हुन थाल्छ।

किनभने लोकतन्त्रको अन्तिम डाक्टर जनता नै हुन्।

Comments

Popular posts from this blog

सिंगापुरका प्रधानमन्त्री लि क्वान यु को झल्को दिने प्रम बालेन शाहको कदम

सैलुनदेखि सिंहदरबारसम्म : रुबीको यात्राले ध्वस्त पार्यों पुरानो मानसिकता

सभापति रविलाई नमागेको सुझावः दादागिरीले पतन ल्याउँछ, विनम्रताले र लोकप्रियता बढाउँदछ