सैलुनदेखि सिंहदरबारसम्म : रुबीको यात्राले ध्वस्त पार्यों पुरानो मानसिकता

 डा. आर सी लामिछाने 


एउटा सुनौलो ईतिहासको शुरुवातः 
नेपालको संसदीय इतिहासमा एउटा नयाँ अध्याय थपिएको देखेर शायद विपि कोईराला, पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको आत्मले शान्ति पाएको होला । एक साधारण, पिछडिएको, मधेशी हजाम समुदायकी छोरी, जसका बुबाले इँटाभट्टा, पुख्र्यौली पेसा सैलुन चलाएर र बैदेशीक रोजगारीमा गएर कमाएको पैसाले परिवार पाल्नुभयो, आज त्यही छोरी संवैधानिक परिषद्को सदस्य र प्रतिनिधि सभाको गरिमामय उपसभामुख बन्न सफल हुनु भएकोछ । यो कुनै जादू नभई काँचको छत (Glass Ceiling) भत्किएको ऐतिहासिक घटना हो। नेपालको सामाजिक विविधतामा ब्राह्मण, क्षेत्री, नेवार, मधेशी, थारू, दलित, पहाडी, हिमाली, किराँत सबैको आफ्नै पहिचान छ। तर यो विविधता नेतृत्वको तहमा प्रतिबिम्बित हुन सकेको थिएन तर  आज त्यो परम्परा भत्कीएको छ र एकजना दलित समुदायकी छोरी सर्वोच्च नेतृत्व मध्येको पदमा निर्वाचित हुनु भएकोछ । वहाँको निर्वाचनसँगै गणतन्त्र थप मजवुत बनेको छ भने राजनीतिले विश्वास आर्जन गर्ने आधार बनेको छ । 

नेपाली सन्दर्भमा के हो काँचको छतः  
काँचको छत भनेको समाजमा देखिने तर अदृश्य रहने त्यो बाधक पर्खाल हो, जसले जाति, लिङ्ग, क्षेत्र र आर्थिक पृष्ठभूमिको आधारमा जस्तोसुकै प्रतिभालाई पनि माथि उठ्न दिँदैन। नेपाली समाजमा यो पर्खाल यसरी देखिन्छ की संसदमा महिला सहभागिता ३३% भन्दा तलै छ, मधेशी समुदायको नेतृत्वमा उपस्थिति न्यून छ, दलित समुदायबाट मन्त्री वा उच्च पदमा पुग्ने अवसर अत्यन्तै दुर्लभ छ, र आर्थिक रूपले विपन्न परिवारका प्रतिभालाई अवसरको पहुँच छैन। यो काँचको छत कानुनमा लेखिँदैन, तर व्यवहारमा भयानक रूपमा अस्तित्वमा रहन्छ। नेपालको महिला आन्दोलन, त्याग र बलिदानको इतिहास लामो भए नेतृत्वको तहमा पुग्न अझै संघर्ष गर्न परिरहेको छ र उपसभामुखमा दलित समुदायकी युवा नेतृत्वको विजयसँगै आज त्यो संघर्षले मूर्त रूप पाएको छ। यद्यपी यस अगाडी पनि राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायधिश, सभामुख,  र उपसभामुखमा महिलाहरुले नेतृत्व गरि सक्नु भएको छ तर वहाँहरुको राजनीतिक पृष्टभुमि र रुबि ठाकुरको पारिवारीक तथा राजनीतिक पृष्टभुमिमा आकास जमिनको फरक छ । माननीय रुबी ठाकुरको विजयमा नै कुनै गुट वा समुदायको हात छ यदि केही छ भने त्यो वहाँको योग्यता, निष्ठा, क्षमता र वहाँको क्षमताको कदर गर्ने रबि लामिछाने, बालेन शाह र हर्क साम्पांग जस्ता रुपान्तरण प्रेमी नेताहरुको ईच्छाशक्ति र सामाजिक रुपान्तरण प्रतिको प्रतिवद्धता हो । 

महिला आन्दोलन र जातीय÷क्षेत्रीय प्रतिनिधित्वको सत्यः
नेपालको महिला आन्दोलन, त्याग र बलिदानको ईतिहास निकै लामो र गौरवशाली छ । तर पनि  किन ३५ वर्षसम्म पनि नेतृत्वको तहमा महिला, मधेशी, दलितको उपस्थिति प्रतीकात्मक मात्र रह्यो ? पुराना ठूला दल (एमाले, काँग्रेस, माओवादी)ले जातीय, क्षेत्रीय प्रतिनिधित्वलाई “राम्रो देखाउन“ मात्र प्रयोग गरे। मिथिला, मधेसका उपेक्षित जातिलाई जब साँच्चै पद आउने बेला आयो, तब गठबन्धनको गणित वा “पार्टी लाइन“ ले रोक्यो। यथार्थ के हो भने पुराना राजनीति पार्टीहरुले समावेशीको सिद्धान्तलाई आफ्ना आसेपासे, आफन्त र गुटको स्वार्थ पूर्ति गर्ने र कमाईखाने भाडोको रुपमा प्रयोग गरे । कति सम्म भन्ने मधेश नै नदेखेका पहाडीयाहरु समेत मधेशी पार्टीहरुका साँसद बनेर प्रतिनिधत्व गरे भने सधै कम्युनिष्टलाई घृणा गर्ने उद्योगीहरु कमरेड बनेर संसदमा उपस्थित भए । समावेशीताको नाममा पुराना पार्टीहरुले पिछडीएको समुदाय प्रति अति नै भद्धा मजाक गरेका थिए, समग्र समुदायलाई नै उपहास गरेका थिए । समावेशीतालाई जित्ने बेला आफ्नो, हार्ने बेला प्रतीकात्मक, र अरूले जित्ने बेला तटस्थ बस्ने रणनीति नै बनाएका थिए । यो नेपाली राजनीतिको सामान्य प्रवृत्ति हो। तर यो प्रवृत्ति तोड्ने काम गर्यो रास्वपाले। जे जति कारणले रुबि ठाकुरको नाममा सहमती भएर रास्वपाले भोट हालेको भए पनि यो नेपाली समाजको सकारात्मक रुपान्तरणको कोशे ढुंगा हो र यो कार्यको लागि रास्वपाको नाम सुनौलो अक्षरले ईतिहासमा लेखिने छ । रास्वपाको यस कदमले समाजको सकारात्मक रुपान्तरणका लागि नयाँ मार्गहरु खोलेको छ ।

 श्रम संस्कृति, रास्वपा, रवि लामिछाने, बालेन शाह र हर्क साम्पांगको प्रशंसात्मक निर्णयः
अहिलेको सामाजिक यथार्थता के हो भने श्रम संस्कृति र  रास्वपा राजनीति दलमा मात्र सिमित हुन चाहेका छैनन ।  यी  दलहरुले सामाजिक रुपान्तरणको अभियानलाई सफलता पुर्वक सञ्चालन गर्न चाहेको देखिन्छ । यी दलहरुको गतिविधी परमपरागत दलहरुको भन्दा फरक छ । श्रम संस्कृति पार्टी सत्तापक्षको दल होइन यसले सरकारको समर्थन वा विरोध केही पनि गरेको छैन यो एउटा सानो प्रतिपक्षी दल हो। तर यसले ठूलो दलले गर्न नसकेको युवा र अत्यन्तै पिछडीएको समुदायका माननीयलाई उपसभामुखमा अगाडी सारेर निकै प्रसंशनीय काम गर्यो। श्रम सँस्कृतिको यो प्रस्तावलाई  रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले समर्थन गरेर ईतिहास निर्माण गरे । सत्ता र पद आफूले खानको लागि नभई समाज रुपान्तरणको लागि माध्याम हुन र अवसर आउदा सहि निर्णय गर्नु नै राजनीतिक ईमान्दारीता हो भन्ने कुरा यो ऐतिहासिक निर्णय गर्दा उनीहरूले महसुस गरेको हुन पर्दछ । यो निर्णयले जातीय, क्षेत्रीय र लैङ्गिक विभेदलाई चिर्ने काम गरेको छ भने पिछडीएको समुदायले पनि आफु नेपालको अभिन्न अंग भएको अनुभुति गर्ने अवसर पाएकोछ । श्रम संस्कृति र रास्वपाको यो निर्णयले नेपालमा प्रसंशनीय नेतृत्व अंकुराई रहेको देख्न सकिन्छ । प्रशंसनीय नेतृत्व (Appreciative Leadership) भनेको नयाँ नेतृत्व भित्र रहेको नेतृत्व क्षमताको प्रष्फुटन गराएर सक्षम नेतृत्व विकास गर्ने अवसर सिर्जना गर्नु हो । 
 पुराना दलहरूको आलोचना र रास्वपाले तोडेको मिथक:
पुराना दलहरूले रास्वपालाई वैचारिक अस्पष्टता भन्दै आलोचना गरीरहेका छन । तर रास्वपाले व्यवहारमा सबैभन्दा बढी परिवर्तनकारी भूमिका खेल्न खोजिरहेको छ ।  पछिल्लो ३५ वर्षमा धेरै कुलीन वर्गले समावेशीताको नाममा फाइदा लिए। तर माननीय रुबीको बिजयले नयाँ राजनीति सँस्कार बिकास भएको अवस्था देखाएको छ ।  यदि सबै क्षेत्रमा यसरी अगाडी बढ्ने हो भने पुरानो खेल सकियो भन्न सकिन्छ तर निष्कर्ष निकाली हाल्न हतार पनि हुन सक्दछ त्यसकारण अझै केही समय पर्खेर हेर्न पर्ने हुन्छ ।  नयाँ राजनीतिले  योग्यतामा आधारित, विविधताको सम्मान, खुला प्रतिस्पर्धा जस्ता कुरालाई आत्मसात गरेर आफनो मार्ग निर्देशक सिद्धान्त बनाएनन भने यीनिहरु पनि समाप्त हुन्छन भन्ने कुरा नयाँ पार्टीहरुले बुझेका होलान भनेर अनुमान गर्न सकिन्छ । राजनीतिक त्याग र सकारात्मक परिवर्तनका बाबजुद पुरानो राजनीतिले शुरु गरेको कुलीनको वर्चस्व, प्रतीकात्मक समावेशीता, आफन्तको भर्ती जस्ता कुराहरु निकै आलोच्य भएकोले पुराना दलका युवा नेताहरूले राजनीति भविष्य सुरक्षित गर्ने हो भने वहाँहरुले नयाँ प्रवाह शुरु गर्नै पर्ने हुन्छ  अन्यथा पुराना दलका युवा नेताहरु सामु एउटा कडा प्रश्न तेर्सिनेछ  तपाईंहरू परिवर्तनको वाहक हने कि बाधक ?

रुबी ठाकुरको अद्वितीय भूमिका: आगामी दिनका पाँच आयाम:
रुबी ठाकुरको भूमिका आगामी दिनमा अत्यन्तै महत्वपूर्ण हुनेछ। 
पहिलो, उहाँले संसदमा ल्याइने हरेक विधेयकमा महिला, दलित, मधेशी, अपाङ्गता भएका व्यक्ति, र विपन्न वर्गको दृष्टिकोणलाई समावेश गर्न सक्नु पर्दछ । 
दोस्रो, उपसभामुखको हैसियतले उहाँले संसदीय कार्यसूची निर्धारण, समिति गठन, र सभा सञ्चालनमा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न सक्न पर्दछ । 
तेस्रो, उहाँको यात्रा आफैंमा एक प्रेरणा हो त्यसकारण वहाँले देशभरका युवा, विशेषगरी पिछडिएका क्षेत्रका युवतीहरूका लागि मार्गदर्शकको भूमिका खेल्नुपर्दछ । 
चौथो, आफ्नो पहिलो संसदीय सम्बोधनमा नै उहाँले लैङ्गिक विभेदलाई चुनौती दिइसक्नु भएकोछ । अब यसलाई नीतिगत परिवर्तनमा रूपान्तरण गर्न नेतृत्वदायी भुमिका खेल्नु पर्दछ । 
पाँचौं, संवैधानिक परिषद्को सदस्यको हैसियतले वहाँले नियुक्तिमा योग्यता, पारदर्शिता र समावेशीताको पक्षमा आवाज उठाउनुपर्दछ । एक साधारण घर, विद्यालय शिक्षा, डिप्लोमा इन्जिनियरिङ, सामाजिक अभियान, र अन्ततः संसदमा उपसभामुख वहाँको यो यात्रा आफैंमा एउटा विश्वविद्यालय हो त्यसकारण वहाँले हजारौ युवाहरुलाई उत्साहित गर्नु भएको छ भने लाखौ गरिव, पिडित, उपेक्षित आमाबाबुहरुमा आशा जगाउनु भएको कुरा ह्रदयगंमन गरेर आगामी कदम चाल्नु पर्दछ । 

पार्टी नेतृत्वको रचनात्मक भूमिका:
रुबी ठाकुरको पार्टी श्रम संस्कृति र वहाँलाई समर्थन गरेको अहिलेको सत्तारुढ दल रास्वपाले वहाँको नेतृत्व क्षमता विकास गर्न पाँचवटा कामहरु गर्नुपर्दछ । 
पहिलो, उहाँलाई संसदीय प्रक्रिया, अन्तर्राष्ट्रिय संसदीय अभ्यास र कूटनीतिक सीपमा नियमित तालिम दिनुपर्दछ । 
दोस्रो, वहाँलाई पार्टीको रणनीतिक निर्णय प्रक्रियामा पूर्ण सहभागी बनाउनुपर्दछ  र वहाँको सल्लाहलाई गम्भीरतापूर्वक लिनुपर्दछ । 
तेस्रो, वहाँलाई सञ्चार माध्यममा प्रभावकारी रूपमा संसदकोे आवाज राख्ने सीप विकास गर्न सहयोग गर्नुपर्दछ । 
चौथो, वहाँलाई अन्य देशका युवा महिला नेताहरूसँग अन्तरक्रिया गर्ने अवसर दिनुपर्दछ । 
पाँचौं, वहाँलाई नियमित रुपमा ज्ञान र सिप आर्जन गर्ने वातावरण निर्माण गर्नु पर्दछ  जसले वहाँको विशेषज्ञता बिकास हुन सकोस ।  
प्रतिपक्षी दलहरूको रचनात्मक भूमिका:
प्रतिपक्षी दलहरूको भूमिका केवल सरकारको आलोचना गर्ने मात्रमा सिमित हुनु हुँदैन । रुबी ठाकुर नेपालकी छोरी र यस देशकी सम्मानीत नेता भएका कारण वहाँको सफलता नै सकारात्मक समाज रुपान्तरणको आधार हो । वहाँ सकारात्मक नेतृत्व विकासको चरणमा हुनु हुन्छ त्यसकारण वहाँ नेतृत्व विकासमा सबै राजनीति दलहरुको चासो र  सहयोग अपरिहार्य हुन्छ त्यसकारण प्रतिपक्षी दलहरुले उपसभामुख रुबी ठाकुरको सफलताका लागि पाँच भूमिका खेल्न सक्दछन्। 
पहिलो, प्रतिपक्षले वहाँको नेतृत्वलाई राजनीतिक प्रतिद्वन्द्वीको रूपमा नहेरी राष्ट्रको सम्पत्तिको रूपमा हेर्नुपर्दछ र राष्ट्रिय हितको लागि सहकार्य गर्नुपर्दछ । 
दोस्रो, वहाँका कमी कमजोरीहरुमा पनि  रचनात्मक आलोचना गरेर सुधार गर्ने अवसर सिर्जना गर्नु पर्दछ ।  
तेस्रो, उपसभामुखको पदलाई राजनीतिक हतियार बनाउनु हुँदैन र प्रतिपक्षले यो पदको गरिमा कायम राख्न सहयोग गर्नुपर्दछ । 
चौथो, प्रतिपक्षले आफैंले पनि आफ्नो पार्टीभित्र रुबीजस्तै उदाहरणहरू सिर्जना गर्न पहल गर्नुपर्दछ । 
पाँचौं, प्रतिपक्षले वहाँमार्फत संसदमा समावेशी नीति निर्माणका लागि रचनात्मक सुझाव दिन पर्दछ ।


पुराना दलका युवा नेताहरूका लागि प्रश्न:
अब प्रश्न पुराना दल (एमाले, काँग्रेस, नेकपा र मधेशवादी) का युवा नेताहरूसामु खडा भएको छः तपाईंहरू परिवर्तनको वाहक हुने कि बाधक ? तपाईंहरूको पार्टीले वर्षौंदेखि जनतालाई युवा नेतृत्वको आशा दिलायो। तर व्यवहारमा ती पार्टीहरू अझै पनि उही वृद्ध, पुरानो संरचनामा जकडीएर बसेका छन्। तपाईंहरूसामु दुईवटा बाटाहरु छन्ः एउटा पुरानै ढर्रा (कुलीनको वर्चस्व, गुटगत स्वार्थ र प्रतीकात्मक समावेशीता) र अर्को नयाँ नेपालको बाटो (योग्यता, पारदर्शिता, समावेशी नेतृत्व)। के तपाईंहरू आफ्नै पार्टीभित्र नयाँ अनुहार, नयाँ विचार र नयाँ नेतृत्व विकास गर्न सक्नुहुन्छ ? वा तपाईंहरू पनि त्यही सिन्डीगेटको शिकार हुन चाहानुहुन्छ ? जनताले अब नारामा होइन, व्यवहार हेरेरगर्दछन । मुल्याँकन  जनताले अब पद होइन, नतिजा हेर्दछन । रुबी ठाकुरको यो यात्रा एउटा उदाहरण हो । स्मरण रहोस, जब नेतृत्वले सही निर्णय लिन्छ, समाज आफैं बदलिन्छ।

निष्कर्ष: नेपाल उठ्नेछ, जब रुबीहरू उठ्नेछन्:
आज रुबीलाई जिताएर रास्वपा र श्रम संस्कृतिले आशा जगाएकी छन । यदि यसै गरी योग्यता र क्षमताका आधारमा सबैलाई अवसर दिएर सकारात्मक कदम चाल्दै गए भने देश भरी सकारात्मक सन्देस प्रवाह हुनेछ र देश नै सकारात्मक रुपान्तरणको मार्गमा दौडिनेछ ।  यो श्रम सँस्कृति पार्टीको प्रस्तावमा रास्वपाको सहयोग र माननीय रुबी साहको जीत त हो तर वास्तवमा यो नेपाली समाजको नै जित हो। यो सकारात्मक नेतृत्वको जित हो। यो काँचको छत भत्काउने सङ्कल्पको जित हो। रास्वपा र श्रमसँस्कृतिले जात र क्षेत्रले होइन क्षमताले पद पाउनुपर्दछ भन्ने सकारात्मक कुराको पहल गरेका छन । अब यो नयाँ इतिहास लेख्ने क्रममा हामी सबैको भूमिका छ। नेपालको नक्साको हरेक क्षेत्रबाट उज्यालोको किरण निस्किरहेको देख्न सकिन्छ र सबै प्रकारका आग्रह र पूर्वाग्रहरु त्यागेर हामी सबै मिलेर नयाँ नेपालको यो यात्रामा सहभागी हुन सक्यौ भने अवश्य नयाँ नेपाल बन्नेछ । त्यसकारण अन्तिम प्रश्न के छ भने नेपालको यो सुनौलो अवसरलाई सबै पार्टी र नेतृत्वले कसरी सदुपयोग गर्दछन ? यो प्रश्नको जवाफले नै आउने दिनमा नेपालको भविष्य तय गर्नेछ।
उज्ज्वल र सफल कार्यकालको लागि  रुबी ठाकुर ज्यूलाई हार्दिक बधाई तथा शुभकामना !


Comments

  1. I appreciate your feedback, suggestions and comments.

    ReplyDelete
  2. जिउदा प्रचण्डलाई कस्तो लागेको छ, सोधेको भए हुने । प्रचण्ड लाई यस बिषयमा नसोधिनु अन्याय भए जस्तो लाग्यो सर

    ReplyDelete
  3. समय सन्दर्भ उत्तम विश्लेशण सर।।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सिंगापुरका प्रधानमन्त्री लि क्वान यु को झल्को दिने प्रम बालेन शाहको कदम

सभापति रविलाई नमागेको सुझावः दादागिरीले पतन ल्याउँछ, विनम्रताले र लोकप्रियता बढाउँदछ